गणतन्त्र विरोधीले जनतालाई भ्रमित पार्न षड्यन्त्र गर्दैछन् : प्रधानमन्त्री

782 Shares

काठमाडौं ११, पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी तत्वहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियान अन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताए । 

‘जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ’, उनले भने, ‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।’

प्रधानमन्त्री दाहालले गणतन्त्र विराधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनु पर्नेमा जोड दिए । उनले विशेष रुपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभइ जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठूलो बलिदानीपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताए । 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गरे ।
प्रधानमन्त्री दाहालले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिए ।

‘परम्परागत रुपमा फागुनदेखि बजेटका विषयमा छलफल गर्ने र जेठमा टुङ्ग्याउने परिपाटीको अब अन्त्य हुन्छ’, उनले भने, ‘‘यस वर्ष सरकारले फागुनसम्ममा जनताले परिवर्तनको महसुस गर्ने गरी नयाँ ढङ्गले बजेटको टुङ्गो लगाइसक्छ ।’ 

वर्तमान सरकारले मिटरब्याजीको शोषणलाई अन्त्य गरेर पीडितलाई  अत्याचारबाट मुक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने बताए ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार सबै

सोसलिष्ट मीडिया ग्रुपद्वारा सञ्चालित www.socialistpost.com यो अनलाइन न्यूज पोर्टल समसामयिक राजनीतिक बिषयमा कलम चलाउने अभिप्रायका साथ सुरुवात गरिएको हो । नेपालमा चलिरहेकोे राजनीतिक घटनाक्रमलाई जस्ताको त्यस्तै आम जनता समक्ष पस्किने उद्देश्यले व्यावसायिक सञ्चाकर्मीहरुको सक्रियतामा सुरु गरिएको हो ।

2025 Socialist Post All Rights Reserved. Developed By Rudra Digital Corp.